
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषदकाे सेट नै परिवर्तन गरेका छन् । मंगलबार उनले सरकारमा रहेका सबै मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ सेटलाई जिम्मेवारी सुम्पिएका हुन् ।
यो पुनर्गठन मन्त्रीहरूको कार्यसम्पादनमा आएको गिरावटका कारण नभई सत्ता साझेदार दलभित्रका आकांक्षी सांसदहरूलाई ‘भाग पुर्याउने’ र असन्तुष्टि सम्बोधन गर्ने रणनीतिको रूपमा लिइएको छ ।
को-को भए बहिर्गमन ?
एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला मन्त्री राम राना, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई सरकारबाट बाहिरिएका छन् । राज्यमन्त्री सिर्जना राईलाई पनि फिर्ता बोलाइएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, पर्यटन मन्त्री सदानन्द मण्डल, कृषि मन्त्री खगेनसिंह हाङ्गाम र भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले पनि बिदा लिएका छन् ।
नयाँलाई जिम्मेवारी
मुख्यमन्त्री कार्कीले रिक्त पदहरूमा एमाले र कांग्रेसका नयाँ नेताहरूलाई नियुक्त गरेका छन् । एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री,चिन्तन (तिलचन) पाठक : खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामकुमार महतो सामाजिक विकास मन्त्री बनेका छन् । उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् ।
कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री, शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।
सत्ता साझेदार दलहरूबीच भएको आन्तरिक सहमतिअनुसार, मन्त्रीहरूको कार्यअवधि एक वर्षको तोकिएको छ । कांग्रेसबाट मन्त्री बनेकाहरू २०८१ भदौ २८ गते नियुक्त भएका थिए र उनीहरूको कार्यकाल एक वर्ष पुग्नै लाग्दा परिवर्तनको गृहकार्य सुरु भएको थियो । एमालेबाट २०८१ जेठ र २०८१ मंसिरमा नियुक्त भएकाहरूलाई पनि ‘कोटा’ मिलाउन फिर्ता बोलाइएको हो ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार यो केवल’अनुहार फेर्ने’ काम मात्र हो । ‘मन्त्रालय उही हुन् । नीति उही हो । केवल नेताहरूको व्यवस्थापन गर्न अनुहार फेरिएका हुन्, स्रोतले भन्यो ।
प्रतिपक्षको टिप्पणी : ‘असफलता लुकाउने प्रयास’
कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘असफल सरकारको नाटक’ को संज्ञा दिएका छन् ।
‘सरकार पूर्ण रूपमा असफल भयो, हिजोको टिम विवादरहित रहेन । अहिलेको हेरफेर भागबण्डा पुर्याउन र नेता व्यवस्थापन गर्न मात्रै हो,’ नेता आङ्बोले भने, ‘जग नै पुरानो र कमजोर भएपछि मान्छे फेरेर मात्रै सरकार सफल हुँदैन ।’
कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : नयाँ मन्त्रीले लिए शपथ
























