
विराटनगर । कोशी प्रदेशमा रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्। २३ पुसमा विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
गठबन्धनका तर्फबाट एमालेले दुई र कांग्रेसले एक सिटमा उम्मेदवारी दिएका छन्। एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन्। अन्य तर्फ कांग्रेसका उम्मेदवार सुनिल थापाले मनोनयन दर्ता गराएका छन्।
उम्मेदवार रोशनी मेचेको प्रस्तावकमा शोभा चेम्जोङ र समर्थकमा सृजना राई रहेका छन्। अर्का उम्मेदवार सोम पोर्तेलको प्रस्तावकमा एकराज कार्की र समर्थकमा छवि चुडाल रहेका छन्। त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकमा रेगिना भट्टराई रहेका छन्।
राष्ट्रिय सभाका रिक्त १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। यो निर्वाचनमा कोशी प्रदेशबाट ३ जना सदस्य निर्वाचित हुनेछन्।
























