
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुने भएका छन्। अन्य समूह तर्फबाट थापाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
बुधबार भएको मनोनयन दर्ताका क्रममा ‘अन्य’ समूहमा नेकपा (एमाले) लगायत अन्य कुनै पनि दलका उम्मेदवारले दाबी पेश नगरेपछि थापाको एकल उम्मेदवारी कायम भएको हो। निर्वाचन कार्यतालिका अनुसार निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने आगामी पुस २७ गते गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
थापाको उम्मेदवारी दर्ताका लागि उद्धव थापा प्रस्तावक र रेगिना भट्टराई समर्थक रहेका थिए। राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेस र एमालेबीच चुनावी तालमेल भएको छ, जसअन्तर्गत अन्य तर्फ कांग्रेसलाई र दलित तथा महिला तर्फ एमालेलाई सिट बाँडफाँड गरिएको थियो।
























