राष्ट्रियसभा निर्वाचन प्रक्रिया अगाडि बढ्यो, उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार ०६:१८

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्दै गर्दा निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी दिन सकिने आज (बिहीबार)को कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभा निर्वाचनमा सहभागी उम्मेदवारका विषयमा कानुनी आपत्ति जनाउन इच्छुक पक्षले बिहीबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्न सक्नेछन् । आयोगका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भइसकेको छ ।

मनोनयन दर्तापछि सुरु हुने कानुनी प्रक्रियाअन्तर्गत बिहीबार उजुरी दर्ता गर्ने र त्यसपछि मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गर्ने कार्यतालिका तय गरिएको हो । निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीउपर विस्तृत जाँचबुझ गरी योग्य र अयोग्य ठहरिएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि पुस २७ गते उम्मेदवारले स्वेच्छाले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन निर्वाचनका लागि प्रतिस्पर्धामा रहने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ । पुस २८ गते भने अन्तिम सूचीमा परेका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १८ पदका लागि निर्वाचन गर्न लागेको हो । आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

हाल राष्ट्रियसभामा रहेका १८ सदस्यको कार्यकाल आगामी फागुन २० गतेदेखि समाप्त हुँदैछ । जसका कारण ती पद रिक्त हुन लागेका हुन् । आयोगले राष्ट्रिय जनगणना २०७८ का तथ्यांकका आधारमा मतदाता संख्या र मतभारसमेत यसअघि नै सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । यी मतदाताले आ–आफ्नो मतभारअनुसार मतदान गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.