विराटनगर । चाडपर्व नजिकिँदैछ । चाडपर्वमा जुवातास खेल्ने चलन छ । समाजमा खेलिने जुवातासलाई नेपालकाे कानुनले भने बर्जित गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ ले जुवालाई अपराध मानेकाे छ । ऐनमा तासको बारेमा व्याख्या नभएपनि तासलाई पनि जुवा जन्य खेल नै मानिन्छ । कसैले जुवातास खेलेको भए कानुनी कारवाही हुन्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।
दोस्रो पटक खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने एक वर्षको कैदमा पट्कै पिच्छे तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुने प्रावधान छ ।
‘जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ,’ जुवालाई परिभाषित गर्ने ऐनमा लेखिएको छ,‘ सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ ।’
ऐनले सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानोतिनोचल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई भने जुवा मानेको छैन ।
दफा १२५. जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुनेः (१) कसैले जुवा खेल्नु वा खेलाउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजायहुनेछ ।
(क) पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना ।
(ख) दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना ।
स्पष्टीकरण : यस संहिताको प्रयोजनको लागि :
(१) “जुवा” भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनु पर्छ र सो शब्दले आफूले जुवा नखेली अरुको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाई समेत जनाउँछ । तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवामानिने छैन :
(क) कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेल ।
(ख) अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठा ।
(२) “जुवा खेलाउने” भन्नाले आफ्नो हक, भोग, चलन, स्वामित्व वा जिम्मामा रहेको घर, कोठा, ठाउँ वा सवारी साधन जानीजानी उपलब्ध गराई वा जुवा खेल्नको लागि कुनै किसिमको साधन उपलब्ध गराई जुवा खेलाउने व्यक्ति सम्झनु पर्छ ।
उपदफा (३) जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ । तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत हुने छैन ।
(४) कसैले सट्टाबाजी गर्नु वा गराउनु हुँदैन ।
(५) उपदफा (४) को प्रयोजनको लागि कसैले कानून बमोजिम खेल्न खेलाउन हुने कुनै खेल वा प्रक्रियामा खास पक्षले हारेमा वा जितेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी बाजी थापेमा सट्टाबाजीको कसूर गरेको मानिनेछ ।
(६) उपदफा (४) बमोजिमको कसूर भएमा त्यसमा प्रयोग भएको विगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(७) यस दफा बमोजिमको कसूरमा पटके कायम गर्दा अदालतबाट कसूरदार ठहरेको आधारमा कायम गरिनेछ ।