
विराटनगर । विराटनगर महानगरपालिका–४ बरगाछीमा रहेको गोग्राहा माध्यामिक विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा महानगरपालिका लागि परेको बताएका छन् ।
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न महानगरले प्रधानाध्यापकहरुसँग कार्य सम्पादन सम्झौता गरिसकेको बताउँदै, प्रमुख कोइरालाले भने, ‘सामुदायिक विद्यालयहरुबीच गुणस्तरका विषयमा प्रतिस्पर्धा हुनुपर्छ । जसरी निजी विद्यालयहरुले राम्रो नतिजा ल्याउनका लागि प्रतिस्पर्धा गर्छन्, त्यसरी नै सामुदायिक विद्यालयले गरे नतिजा राम्रो आउँछ । पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयको शैक्षिक सुधार हुँदै गएको छ ।’
राज्यले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी लगानी गरे पनि आशा गरे अनुसारको सुधार भएको देखिँदैन ।
प्रधानाध्यापक, शिक्षक र अभिभावकले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
विद्यालयस्तरदेखि नै स्वरोजगार र सीपमूलक शिक्षा दिनुपर्ने बताउँदै, प्रमुख कोइरालाले भने, ‘घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा सबै पक्षले जोड दिनुपर्छ । विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षाबाट उत्पादित जनशक्ति विश्वको श्रम बजारमा सहजै बिक्न सक्छन् ।’
कार्यक्रममा अक्षयकोष स्थापना गर्ने व्यक्ति र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

























