विराटनगरको जेबी ट्रान्सपोर्टमा राजस्वको छापा, २७ बोरा कपडा बरामद

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १७:२१

विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको छ ।

तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो १ बजेतिर छापा हानेको हो । छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको उनले बताए । बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ । बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको पाइएको लुइँटेल बताउँछन् । ‘व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइयो,’ उनले भने, ‘कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काटिदिँदा रहेछन् ।’

दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ । ‘भ्याट बिल र भीसीटीएसको बिल बनाउँदा रहेछन् । तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइयो,’ उनी भन्छन्, ‘दुवै फार्म कपडाको कारोबारमा कतै जोडिदैनन् । बिल चैं बेच्ने गरेको खुलेको छ ।’

बिल बेचेबापत ५ सयदेखि १ हजार रूपैयाँसम्म लिने गरेको पाइएको राजस्वले जनाएको छ । राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भीसीटीएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो ।

कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ । राजस्वको टोलीले कृष्णका संचालक सुव्रत देलाई पक्राउ गरेको छ । देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो ।

देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको जानकारी दिए । उनका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन् ।

ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन् । राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका संचालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर मञ्जर भागेको अधिकृत लुइँटेलको भनाइ छ । उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ ।

बरामद गरिएको कपडा अन्दाजी ६ करोड मूल्य बराबरको रहेको बताइएको छ । ‘कपडाका पोका खोल्न बाँकी छ । खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुन्छ । थप अनुसन्धान भइरहेको छ,’ लुइँटेलले भने ।

उनका अनुसार कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि छापा हानिएको थियो । विराटनगर भन्सार कार्यालयका एजेन्टसमेत रहेका रौनियारको कपडासहितको ट्याक्टर राजस्वले नियन्त्रणमा लिइएको थियो । रौनियार नामुद कपडा तस्कर रहेको राजस्वले जनाएको छ ।

तस्करीको कपडासहितको ट्याक्टर नियन्त्रणमा लिएर उनीसँग राजस्वले १५ लाख धरौटी माग गरेको थियो । त्यसबापत रौनियारले बैंक ग्यारेन्टी दिएका छन् । ‘लामो समयदेखि कपडाको तस्करी गरिरहेको सूचनाका आधारमा रौनियारको गोदाममा पटकपटक छापा हानिएको छ । प्राप्त केही प्रमाणले उनी कपडामा तस्करीमा संलग्न छन् भन्ने देखाउँछ,’ लुइँटेल भन्छन् ।

रौनियारले भने मुलुकलाई घाटा पुग्ने भएका कारण आफू तस्करीमा संलग्न नरहेको दाबी गरेका छन् । ‘म राजस्वमारा काम गर्दिन । तस्करी गर्नेका बारेमा सम्बन्धित निकायलाई सूचना चैं दिन्छु,’ उनले भने ।

तस्करीसँग सम्बन्धित धेरै सूचनाहरु आफूसँग रहेको रौनियार बताउँछन् । उनले आफू भन्सार एजेन्ट नरहेको र व्यापार गरेर बस्ने गरेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.