करणी मुद्दामा सर्वाेच्चको नजिर : ‘वारदातस्थलमा वीर्य भेटिए अनिवार्य परीक्षण गर्नु’ (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ८, मंगलवार ०५:२९

विराटनगर । सर्वोच्च अदालतले जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकारीको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले जबरजस्ती करणीको वारदात (घटना भएको स्थान) स्थलमा मानव वीर्य फेला परेको रहेछ भने सो वीर्य आरोपित व्यक्तिको हो कि होइन भनेर अनिवार्य रुपमा परीक्षण गर्न प्रहरी र सरकारी वकिलको कार्यालयको नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

Advertisement

सर्वोच्चको यो नजिर नेपाल कानुन पत्रिकामा २०७५ साल चैतमा प्रकाशित भएको थियो । यो नजिरपछि प्रहरीले जबरजस्ती करणीको वारदात स्थलमा मानव वीर्य फेला परे आरोपितको हो वा होइन भनेर परीक्षण गर्न सुरु गरेको थियो । त्यसअघि अनिवार्य रुपमा परीक्षण गर्ने गरेको थिएन ।

काठमाडौँ महानगरपालिका वडा – १५ चमतीमा सन्दीप नेपालीले आफ्नी श्रीमतीलाई २०६८ माघ २० गते जबरजस्ती करणी गरेको भन्दै उनका श्रीमानले प्रहरीमा जाहेरी दिएका थिए ।

महिलाका श्रीमान काम गर्ने क्रममा घाइते भएपछि सन्दीप नेपालीले उपचारका लागि वीर अस्पताल लगेको थिए । पैसा नभएकोले पैसा लिएर आउँछु भन्दै अस्पतालबाट निस्किएका उनले घाइतेको डेरामा गएर उनकी श्रीमतीलाई अस्पताल जाँऊ भन्दै लिएर आएका थिए ।

तिम्रो श्रीमानलाई अस्पतालमा कुर्नुपर्छ भनी मोटरसाइकलमा राखेर वीर अस्पताल पुर्‍याइदिन्छु भनेका सन्दीपले काठमाडौँ १५ कै चमतीमा रहेको नर्कटको झाडीमा लगेर जबरजस्ती करणी गरेका थिए । घटनापछि महिलाका श्रीमानले प्रहरीमा जाहेरी दिएका थिए । महिलाले पनि आफूलाई जबरजस्ती करणी भएकाे भनी अदालतमा बकपत्र गरेकी थिइन । करणी मुद्दामा दोषी ठहर भएका नेपालीले भने घाइतेले पाँच लाख रुपैयाँ मागेको र नदिएका कारण रिसइबी राखी आफूलाई करणी मुद्दा दायर गरेको बकपत्र गरेका थिए ।

यो मुद्दामा २०७० साल मंसिर १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले पाँच वर्ष कैद र १५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो । जिल्लाको फैसला विरुद्ध नेपालीले पुनरावेदन गएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश बाबुराम रेग्मी र नागेन्द्र लाभ कर्णको इजलासले उनलाई १० वर्ष कैदको फैसला सुनाएको थियो ।

उच्चको फैसला विरुद्ध पनि आरोपीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले पनि उच्चको फैसला सदर गर्दै अनुसन्धान अधिकारीको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

‘प्रस्तुत मुद्दामा पीडितले लगाएको सुरुवालबाट मानव वीर्य फेला परेको भनी मिति २०६९ साउन १५ को केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनबाट देखिएको छ । तर सो वीर्य यी प्रतिवादीको हो वा होइन भन्ने कुरा यकिन गर्नको लागि थप परीक्षण गरिएको छैन,’ सर्वाेच्चको फैसलाको पूर्णपाठमा भनिएको छ,‘प्रस्तुत मुद्दामा मिसिल संलग्न अन्य प्रमाणबाट प्रतिवादीको अपराध पुष्टि भएको देखिए पनि पीडितको कपडामा फेला परेको वीर्य यी प्रतिवादी कै हो भन्ने कुराको एकिन गर्न प्रयोगशालाबाट परीक्षण गरिएको भए अनुसन्धान कार्य अझ प्रभावकारी हुन गई प्रतिवादी उपरको कसूर प्रमाणित गर्ने बलियो र वैज्ञानिक प्रमाण प्राप्त भई न्याय सम्पादनको कार्यमा सहजता पुग्न जाने थियो । तसर्थ अबदेखि जबरजस्ती करणीको वारदातमा मानव वीर्य फेला परेको रहेछ भने सो वीर्य आरोपित व्यक्तिको हो वा होइन सो कुराको अनिवार्य रुपमा परीक्षण गरी एकिन गर्नु गराउनु भनी अनुसन्धान कार्यमा संलग्न हुने नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयको नाममा यो निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.