काठमाडौं । न्याय परिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतलको न्यायाधीशमा २ जनाको नाम सिफारिस गरेको छ ।
न्याय परिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरु दुवै जना सर्वोच्चको न्यायाधीश बन्ने छन् ।
तीमध्ये निरौला छोटो समयका लागि प्रधानन्यायाधीशसमेत बन्ने छन् । न्यायाधीश टेकप्रसाद ढुंगाना प्रधानन्यायाधीश भएर २०९३ सालमा अवकाशमा जाने छन् । त्यसपछि करिब २ महिना निरौला प्रधानन्यायाधीश हुने छन् ।
तर, संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएर उनी सर्वोच्चको न्यायाधीश नियुक्त हुनुपर्छ । त्यसपछि रोलक्रम अनुसार छोटो अवधिका उनी प्रधानन्यायाधीश बन्ने छन् ।
निरौला सर्वोच्चको तेस्रा मुख्य रजिष्ट्रार थिए । मुख्य रजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीश नियुक्त भएका हुन् । पाण्डे गत २०८० मंसिरमा उच्च अदालतको मुख्य न्यायाधीश बनेका हुन् ।