काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ आज (बुधबार) हुने भएको छ ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम प्रस्ताव गरिएको छ । संघीय संसदको संसदीय समितिले राउतका हकमा सुनुवाइ गर्ने छ ।
समितिले प्रधान न्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गरेको थियो । उनीविरुद्ध ६ वटा उजुरी परेका छन् ।
संवैधानिक परिषद्को बैठकले गत भदौ ३१ गतेको प्रधान न्यायाधीशमा राउतको नाम सिफारिस गरेर संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको यही असोज ३ गतेको बैठकबाट प्रस्तावित प्रधान न्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गर्यो ।
बैठकमा प्रस्तावित प्रधान न्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ । संसदीय सुनुवाइबाट अनुमोदन भए राउत सर्वोच्च अदालतको प्रधान न्यायाधीश बन्ने छन् ।