काठमाडौं । नेपाल बार एसोसिएनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ ।
न्यायाधीश कुमार रेग्मी र डा.कुमार चुँडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको हो । घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । न्याय परिषद्ले गरेका निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि सर्वोच्च प्रशासनले घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो ।
न्याय परिषद्को असोज ११ गतेको बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ‘लेनदेन’का आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सर्वोच्चमा प्रतिवेदन पेस गरेका हुन् ।
सोही प्रतिवेदनमाथि बिहीबार सर्वोच्चमा सुनुवाइ भएको हो । बार अध्यक्ष घिमिरेले न्यायपालिकामा हुने विकृति, विसंगति, भ्रष्टाचार र अनियमिताका विरुद्धमा बोल्दा आफूविरुद्ध अवहेलनाको मुद्दा लाग्छ भने त्यसलाई सजिलै ‘फेस’ गर्ने बताउँदै आएका छन् ।