
काठमाडौं । काठमाडौंमा जारी ७ औं साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको खेलहरुमा नेपाल र भुटान गोल रहित बराबरी खेले भने माल्दिभ्सलाई हराउँदै श्रीलंकाले विजयी सुरुवात गर्यो ।
पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । श्रीलंकाका लागि १८ औं मिनेटमा इमेशा वार्नाकलासुरियाले गोल गर्दै टोलीलाई विजयी बनाइन् ।
त्यस्तै, अर्को खेलमा नेपाल र भुटान दुवै टोली गोलरहित बराबरी भएपछि अंक बाँडे । नेपाली टोलीले बल अधिकांश समय आफ्नो पक्षमा राखे पनि भुटानी टोलीको गोलरक्षक र डिफेन्स लाइनलाई क्रस गरेर गोल गर्न नसक्दा अंक बाँड्नु पर्यो ।
साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न नसकेको हो । साफ च्याम्पियनसिपको समूह चरणको खेलमा नेपालले गोल नै गर्न नसकेको पहिलो पटक हो ।
यसअघि ६ संस्करणमा खेलेको समूह चरणको सबै खेलमा नेपालले कम्तिमा १ गोल गरेको थियो ।
प्रतियोगिताअन्तर्गत शनिबार खेल हुँदैन भने आइतबार बंगलादेश र पाकिस्तानबीच खेल हुनेछ ।



















