
विराटनगर । कुनै कसूर गरेका व्यक्तिलाई आश्रय दिन नमिल्ने कानुनी प्रावधान छ । कसैले कसूर गरे प्रहरीलाई जानकारी दिनुपर्छ ।
यदि कसैले आश्रय दिए कसूरदारको अपराधको प्रकृति अनुसार अधिकतम ५ वर्षसम्म कैद हुनसक्छ । यो व्यवस्था भने कसूरदारको परिवारलाई लागु हुनेछैन ।
मुलुकी अपराध संहिता २०७४ को दफा ९५ मा कुनै कसूरदारलाई आश्रय दिन नहुने प्रावधान छ । दफा ९५ को उपदफा १ मा भनिएको छ ,‘कसैले कुनै कसूरदारलाई जानीजानी पक्राउ हुनबाट वा कानून बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिनु हुँदैन ।’
‘कसूरदार’ भन्नाले कुनै कसूरमा शङ्कास्पद रहेको, अभियुक्त बनाइएको वा अदालतबाट दोषी ठहर भएको व्यक्ति हुन् ।
सोही दफाको उपदफा २ मा कसूरदारलाई आश्रय दिए कैद सजायको व्यवस्था छ । उपदफा २ मा भनिएको छ ,‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ :
(क) जन्मकैद वा बीस वर्षसम्म कैद सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना ।
(ख) दश वर्षसम्म कैदको सजाय हुन सक्ने कसूरको कसूरदारलाई आश्रय दिएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना ।
(ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कसूरको कसूरदारलाई आश्रय दिएको भए त्यस्तो कसूरमा हुन सक्ने कैद वा जरिवानाको उपल्लो हदको चार खण्डको एक खण्डसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ ।
तर कसूरदारको पति वा पत्नी वा बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरा, बुहारी, ज्वाइँले आश्रय दिएकोमा भए कसूर नमानिने’ मुलुकी अपराध संहिता २०७४ को दफा ९५ को उपदफा ३ मा उल्लेख छ ।
दफा ९६ मा कुनै कसूर भएको वा हुन लागेको छ भन्ने थाहा पाई त्यस्तो कसूरको जानकारी दिनु पर्ने कानूनी कर्तव्य भएको व्यक्तिले जानकारी नदिई बसेको वा कुनै कसूर भएको थाहा पाएको व्यक्तिले जानीजानी झुटो जानकारी दिए त्यस्तो व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ ।


























