
विराटनगर । बुटवल लुम्बिनी फुटबल क्लबले डिफेन्डिङ च्याम्पियन ललितपुरको ब्रिगेड ब्वाईज क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवलले ब्रिगेड ब्वाईजलाई २–१ को गोलअन्तरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
बुटवलले बिहीबार फाइनल यात्राका लागि झापा ११ को सामना गर्नेछ । बुटवलले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हो । ब्रिगेड ब्वाईजले खेलको सुरुवातमै गोल गर्दै अग्रता लिए पनि मध्यान्तरपछि बुटवलले आफ्नो खेललाई सुधार गर्दै खेलेपछि नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको २० औं मिनेटमा ब्रिगेड ब्वाइजका सुजन ढंगोलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा बुटवलका एरिक विष्टलाई डिबक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीमा विष्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६२ औं मिनेटमा बुटवलका ग्लोरीले गोल थप्दै टोलीको गोल संख्या दोब्बर पारे । उनले मैदानको मध्यभागबाट रिचर्डले दिएको पासमा गोल गरेका हुन् ।

खेलको म्यान अफ द म्याच एरिक विष्टले नगद ५ हजार र ट्रफी प्राप्त गरे । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको बुधबारको खेल सिराहाको सलहेस फुटबल क्लब र भारत पश्चिमबंगलको दलसिंहपारा फुटबल क्लबबीच हुनेछ ।



















