काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।
बार अध्यक्षको हैसियतमा उनले आइतबार लिखित जवाफ पेस गरेका हुन् । अदालतले आफैं वा वारेसमार्फत लिखित जवाफ पेस गर्न भने पनि बारको प्रतिनिधित्व गर्दै उनले लिखित जवाफ पेस गरेका छन् ।
सर्वोच्च अदालतका तर्फबाट उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनमा आधारमा उनीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा न्यायाधीश कुमार रेग्मी र कुमार चुँडालको संयुक्त इजलासले कात्तिक १ गते आफैं वा वारेसमार्फत ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
सर्वोच्चको उक्त आदेशपछि २०८१ कात्तिक ७ गते सल्लाहकार समितिको बैठक बसी मुद्दालाई नेपाल बार एसोसिएसनविरुद्धकै मुद्दाका रूपमा ग्रहण गरी सोही हैसियतमा लिखित जवाफ प्रस्तुत गर्ने भन्ने निर्णय भएकाले सोही अनुसार नेपाल बार एसोसिएसनको अध्यक्षको हैसियतमा लिखित जवाफ पेस गरिएको उनले जवाफमा भनेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए ।