
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ बाउण्ड्रीको सहयोगमा प्रथम नेपाल हब महिला २०–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा विराटनगर हब महिला टिम र राजविराज हब महिला टिमबीच ३ खेलको प्रतियोगिता हुने खेल संयोजक मन्दीप साहले बताए । शनिबार भएको पहिलो खेलमा विराटनगरले राजविराजलाई ३८ रनले पराजित गरेको छ ।
३ खेलको सिरिजमा विराटनगरले १–० को अग्रता लिएको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५ रन बनाएको थियो ।
विराटनगरका लागि प्लेयर अफ दी म्याच टीका साहले ३८ रन बनाउँदा सानु राजवंशीले १२ तथा पूर्णिमा राजवंशी र प्रिन्सा मगरले १०–१० रनको योगदान दिएका छन् । राजविराजकी बन्दना रजक, अपेक्षा यादव र साक्षी यादवले २–२ विकेट लिए ।
१ सय ५ रनको विजयी लक्ष्य पाएको राजविराजले पूरै ओभर खेल्दै ८ विकेट गुमाई ६७ रन मात्र बनायो । राजविराजकी दीपा रामले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।
विराटनगरकी स्मारिका गौतमले ३ विकेट र अंशु मण्डलले २ विकेट लिएका थिए । यी दुईबीचको दोस्रो खेल आइतबार हुने छ ।



















