
काठमाडौं । नेपाल युएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत आज (आइतबार) थाइल्याण्डसँग खेल्दै छ ।
नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो ३ः१५ बजेतिर सुरु हुने छ । छनोट प्रतियोगिता गत बुधबारबाट सुरु भएको हो । पहिलो खेल नै नेपाल र थाइल्याण्डबीच भएको थियो । थाइल्याण्ड नेपालसँग ६७ रनले पराजित भयो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो ।
नेपालले शनिबार खेलेको तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजय बेहोरेको छ । यूएईसँग १३ रनले नेपाल पराजित भएको हो ।
छनोटमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ ।
सहभागी चारमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुनेछ ।



















