साफ महिला च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता, छानबिन र कारबाही हुुनुपर्छः एन्फा वरिष्ठ उपाध्यक्ष खड्का

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १७:४२

काठमाडौं । हालै काठमाडौंमा सम्पन्न ७ औं साफ महिला च्याम्पियनसिप (साफ)कोे टिकट बिक्रीमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकरीबाट आर्थिक अनियमिता भएको आरोप लागेको छ ।

काठमाडौंमा अइतबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै साफ खेलको टिकट बिक्रीमा एन्फाका पदाधिकारीले आर्थिक अनियमतिा गरेको आरोप लगाएका छन् ।

उनले टिकट बिक्रीमा संघकै पदाधिकारीले अनियमिता गरेको हुँदा यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए । टिकट बिक्री घोटाला काण्डको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

टिकट बिक्रीका लागि गरिएको टेण्डर आव्हान प्रक्रिया नै गलत भएको आरोप लगाउँदै, खड्काले भने, ‘टेण्डर आव्हानको समयभित्र एउटा कम्पनीले मात्रै आवेदन दिएको अवस्थामा अर्काे सूचना प्रकाशित हुनुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिन्छ । नेपालको कानुन तथा एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकाले अनियमितता र भ्रष्टाचार भएको छ ।’

टिकटको दर निर्धारण तथा व्यवस्थापनका लागि एन्फा कार्यसमितिका सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकाशनारायण श्रेष्ठ, प्रवीण यादव, सरेश साह र संजीव पाण्डेको समिति गठन भएको थियो ।

खेल अवधिको टिकट बिक्री गर्न माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट प्रालिले ८० लाख रुपैयाँमा एन्फासँग टिकट बिक्रीको अधिकार खरिदको सम्झौता भएको थियो । तर, अवैधानिक तवरबाट सम्झौता खारेज गर्ने निर्णय अपारदर्शी र स्वार्थप्रेरित देखिएको खड्काले बताए ।

माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकट बिक्रीका क्रममा सम्झौता विपरीतको काम गरेको आरोप लगाउँदै अन्तिम समयमा सम्झौता रद्द गरी फाइनलको टिकट एन्फा आफै बिक्री गर्ने निर्णय लिनुले पनि धेरै शंका उब्जाएको आरोप खड्काको छ ।

नेपाल र भारतको सेमिफाइनलमा निर्धारण गरिएभन्दा बढी टिकट बिक्री गरेको आरोप लगाइएको थियो ।  टिकट बिक्री गर्ने निर्णय फाइनलभन्दा एक दिनअघि मात्रै लिँदै एन्फाले फाइनलमा साधारण प्यारापिटतर्फ ५ सय र भीआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको थियो ।

फाइनलमा ११ हजार (भीआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ १० हजार)टिकट बिक्री गरिएको एन्फाले बताएको थियो ।

अन्तिम समयमा आएर एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले खल्ती डिजिटल वालेट एपबाट टिकट बिक्री गरेको साधारण प्यारापिटतर्फको ४ हजार १ सय टिकटलाई मान्यता दिइएको थियो ।

आफ्नै निर्णय विपरीत एन्फाले फाइनलमा भीआइपीतर्फ १ हजार ८२ र साधारण प्यारापिटतर्फ १० हजार १ सय ३५ टिकट बिक्री गरेको बताउँदै, खड्काले भने, ‘टिकट बिक्री सम्बन्धी गलत निर्णयका कारण एन्फालाई १ करोड ५० लाख रुपैयाँ क्षति पुग्यो । खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम महिला खेलाडीहरुलाई वितरण गरिनु पर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.