
काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
आफ्नो चौथो खेलमा कुवेतमाथि नेपाल १६५ रनले हाबी भएको हो । नेपालले फराकिलो जित निकाल्न सक्नुको कारण कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन हो ।
नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ४८ रनमै सीमित भएको थियो । नेपालकी कप्तान महतोले ४ ओभरमा एक मेडन राख्दै ८ रन दिएर ५ विकेट लिइन् । नेपालकी रचना कुमारी र सीमाना केसीले २–२ विकेट लिएका थिए ।
कुवेतकी जीफा जिलानीले ३६ रन बनाउनबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर २१३ रनको विशाल योगफल बनाएको थियो ।
नेपालकी कप्तान महत ६९ बलमा १७ चौकाको मद्दतमा १३० र सोनी पाख्रिनले दुई चौकासहित ४३ रनमा अविजित रहे । उनीहरूले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । सावित्री धामी ११ र सान प्रविनले ६ रन जोडे ।
कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले १–१ विकेट लिए । प्रतियोगितामा पाँचमध्ये ४ खेल जितेको नेपालल यसअघि यूएईसँग मात्रै पराजित भएको छ । नेपालले अब यूएईसँग बुधबार अन्तिम खेल खेल्ने छ ।
चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । शीर्ष स्थानमा रहने टोलीले यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।



















