
काठमाडौं । नेपालले आइसिसी यू–१९ टी–२० महिला विश्व कपमा छनोट भएको छ ।
युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल विश्व कपमा छनोट भएको हो । नेपालले पहिलो पटक विश्व कपमा स्थान बनाउन सफल भयो । विश्व कप २०२५ जनबरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ ।
युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दै विश्व कपमा स्थान बनाएको हो ।
नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले यो लक्ष्य १६ ओभर २ बलमा पूरा गरे पुग्ने समीकरण रहेको थियो ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१, रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पूजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।



















