
सिराहा । विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित ५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
भ्रष्टाचार मुद्दामा पूर्वमेयर गंगा पासवानसहित प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई विशेषले दोषी ठहर गरेको हो । नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेर आर्थिक हानि–नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध २०८० चैत १४ गते मुद्दा दायर भएको थियो ।
मुद्दामा मंगलबार र बुधबार सुनुवाइ भएको थियो । सुनुवाइ सकिएसँगै विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार फैसला सुनाएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अख्तियारले बिगो दाबी गरेको १ करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसलासमेत भएको छ । भ्रष्टाचारी ठहर भएकाको सजाय निर्धारणको समय भने आगामी मंसिर १० गतेलाई तोकिएको हुने रेग्मीले बताए ।
दोषी ठहर भएकालाई २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद हुनसक्ने बताइएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दिएको आदेशविपरीत कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो।
मेयर पासवानसहितले भवन निर्माणको प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान हुँदा कार्यालय स्थानान्तरणको प्रक्रिया अधुरै थियो ।
यसले सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको ठहर अदालतको छ । नगरपालिकाको केन्द्र परिवर्तनको निर्णय नगरिकन वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरिएको थियो ।

























