
काठमाडौं । विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली रुपमा देखिएको छ ।
विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २५ औं वल्र्ड कंग्रेस आयोजनाका लागि नेपालगन्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो ।
नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगन्ज म्याराथनले ६७ मत प्राप्त गर्न सफल भयो । १८ मतले पछाडि पर्दा वल्र्ड कंग्रेस आयोजनाको अवसर गुमाउन पुग्यो ।
भियतनामको हनोइमा जारी २४ औं वल्र्ड कंग्रेसका दौरान शनिबार भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चिसौं वल्र्ड कंग्रेस नर्वेमा हुने निर्णय गरियो ।
‘दश मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो ‘ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा केही लबिङ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौं ।’
नर्वेले आसन्न कंग्रेस आयोजनाको अवसर पाए पनि सभाहलमा नेपालले धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले अनुभूति सुनाए ।
नेपाललाई विश्व मञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुशी लागेको छ । ठकुरीले भने, ‘प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौं, सबैको मायाले यो उर्जा मिलेको हो, नेपालगन्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छु ।’
संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो । एम्समा आवद्ध हरेक देशका म्याराथन आयोजकहरु यतिबेला हनोइमा जम्मा भएका छन् ।
४ दिने कंग्रेसमा नेपालबाट यस पटक नेपालगन्ज म्याराथन र पोखरा म्याराथनले सहभागिता जनाएका छन् । धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण यही मंसिर २२ गते शनिबार हुँदैछ ।



















