
काठमाडौं । लुम्बिनी लायन्स क्लबले आज लुम्बिनीमा जर्सी सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी टोली लुम्बिनीले जर्सी सार्वजनिक गरेको हो ।
लुम्बिनीको मायादेवी मन्दिरबाट आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेल, लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीलगायतले जर्सी सार्वजनिक गरेका हुन् ।
जर्सीमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी डिजाइन गरिएको छ ।
आनी छोइङ डोल्माले संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ । त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सक्ने छ भन्दै शुभकामना दिएकी थिइन् ।
ब्राण्ड एम्बास्डर हमालले लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो ।
लुम्बिनी लायन्सका अध्यक्ष जिसीले लुम्बिनीवासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्वलाई समेट्ने गरी जर्सीको डिजाइन गरेको बताए । एनपीएपल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।



















