नेपालसँग अफगानिस्तान २–० ले पराजित

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार २१:१८

काठमाडौं । ताजिकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानमाथि २–० गोल अन्तरले नेपाल हाबी भएको हो ।

डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा शनिबार भएको खेलमा जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरेर नेपाललाई जित दिलाए । नेपालका लागि दुवै गोल‌ दोस्रो हाफपछि मात्रै सम्भव भयो ।

जिलेस्पीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै अग्रता दिलाएका थिए भने रोहितले ७८ औं मिनेटमा गोल थपेर नेपालको जित पक्का गरेका हुन् । रोहितले नेपालका लागि गरेको पहिलो गोल हो ।

डिफेन्डर रोहितको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । रोहितले प्यालिस्टाइनविरुद्ध सन् २००९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।

नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो। एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा १–० (अप्रिल, २०११) को जित निकालेको थियो। त्यसपछि नेपालले अफगानिस्तानविरुद्ध दुई खेल खेलेको छ।

साफका ती दुवै सेमिफाइनल (नयाँ दिल्ली २०११ र काठमाडौं २०१३) को भेटमा नेपाल अफगानिस्तानसँग स्तब्ध बन्यो । नेपालले बुधबार भएको खेलमा फिफा वरीयतामा ५१ स्थानमाथिको घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको थियो।

अफगानिस्तानले अब मंगलबार ताजिकिस्तानसँग खेल्ने छ। नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित निकालेको हो ।

फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओसविरुद्ध जित हात पारे यता नेपाल जितविहीन थियो । नेपाली टोली नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि ताजिकिस्तान गएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.