
काठमाडौं । न्यायपरिषद्को बिहीबार बसेको बैठकले ११ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ ।
न्यायपरिषद्ले जिल्ला न्यायाधीशहरु शंकरबहादुर राई, राजेशकुमार कटुवाल, श्यामलाल घिमिरे, डिल्लीराम शर्मा अर्याल, मनोजकुमार श्रीवास्तव, रोमाकान्त ज्ञवाली, रामानन्दप्रसाद अधिकारी, चन्द्रकुमार पोखरेल, आनन्दराज पन्त, नीलकण्ठ बराल र मीनबहादुर कुँवरको विभिन्न जिल्ला अदालतमा सरुवा गरेको हो ।
राईको कास्की, कटुवालको तनहुँ, घिमिरेको जाजरकोट, अर्यालको रुपन्देही, श्रीवास्तवको धनुषा, ज्ञवालीको दाङ, अधिकारीको नवलपरासी, पोखरेलको सोलुखुम्बु, पन्तको जुम्ला (कालीकोट जिल्ला अदालतमा समेत कामकाज गर्नेगरी), बरालको सुर्खेत र कुँवरको मुगु जिल्ला अदालतमा सरुवा भएको न्यायपरिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार उच्च अदालतका २ जना न्यायाधीशको समेत काज भएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेको काज सरुवा भएको हो ।
दुवै जनालाई काजमा उच्च अदालत विराटनगरको इलाम इजलासमा खटाइएको छ । त्यस्तै, उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउने निर्णय पनि न्यायपरिषद्ले गरेको छ ।
त्यस्तै, भक्तपुर जिल्लामा मुकाम रहनेगरी बालअदालत गठन गर्न सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौं भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बालइजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार दिने र भक्तपुर जिल्लामा मुकाम रहनेगरी बालअदालतको सिफारिस भएको क्षेत्रीले बताए ।
उनका अनुसार नयाँ गठन हुन लागेको बालअदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठाडौं, ललितपुर र भक्तपुर)का अदालतसहित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विचाराधीन रहेका बालइजलासका मुद्दा हेर्नेछ ।
हेरौं न्यायपरिषद्को निर्णय


























