
झापा । झापामा उत्पादित तीन लाख ६४ हजार ४४ केजी तयारी चिया भारत निर्यात भएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको तीन लाख ६४ हजार ४४ केजी चिया भारत निर्यात गरेको हो ।
संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेका अनुसार चियाखेती गर्ने किसान सदस्यबाट संकलन भएको चिया भारत निर्यात गरेको हो ।
इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा १३ करोड लगानी भएको उनले बताए ।
संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ ।
उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उनले दिए ।

























