
काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको १६८ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतले रसुवामा निर्माण गरेको तीन वटा जलविद्युत आयोजनाबाट उत्पादित १६८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
तीन वटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा जोडएको हो । १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । माथिल्लो साञ्जेन गत वर्षको असोजबाट विद्युत उत्पादन सुरु गरेको थियो । हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत बिक्री गरिसकेको छ ।
४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडीएर परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको पनि परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ ।
नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदमा करिब ८० मेगावाटमात्र विद्युत उत्पादन हुन्छ ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चार वटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए ।
माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

























