सूर्य नेपाल गल्फ सोमबारदेखि

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार १९:४४

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरु हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एशोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४ / २५ को सिजनमा कूल ८ प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।

सिजनको कूल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ । गत संस्करणभन्दा यो नगद पुरस्कार राशि ५ प्रतिशतले वृद्धि भएको हो । गल्फ टुरलाई १८ औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपालको साथ रहेको छ ।

सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठूलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एशोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए ।

सिजनको ८ प्रतियोगिता विभिन्न ४ गल्फ क्लबमा हुने तय भएको छ । तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुनसक्ने नेपाल प्रोफेसनल गल्फर्स एशोसिएसनका महासचिव दीपक आचार्यले बताए ।

अहिलेका लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३ / ३ प्रतियोगिता हुने भनिएको छ ।

यसैगरी, पोखरा र धरानमा १ / १  प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ । गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याइ महासचिव आचार्यको छ ।

उनका अनुसार यही टुरमा निरन्तर सहभागिताले एमेच्योर खेलाडीहरूबाट अन्तर्राष्ट्रिय स्तरमा नतिजा आउन सुरु गरेको छ । ८ मध्ये ७ प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ भने म्याच प्लेको फर्मयाट फरक हुनेछ ।

जहाँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । नगद पुरस्कार राशिको आधारमा सबैभन्दा ठूलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ । जसको कूल पुरस्कार १६ लाख १९ हजार रहनेछ ।

सूर्य नेपाल गल्फ टुर २०२४ / २५ मा हुने प्रतियोगिताहरू
१. सूर्य नेपाल सेन्ट्रल ओपन, गोकर्ण, ८ लाख ८२ हजार
२. सूर्य नेपाल काठमाडौं ओपन, आरएनजिसी ७ लाख ३५ हजार
३. सूर्य नेपाल इस्टर्न ओपन, धरान, ८ लाख ८२ हजार
४. सूर्य नेपाल वेस्टर्न ओपन,पोखरा, ८ लाख ८२ हजार
५. सूर्य नेपाल च्यालेन्ज, आरएनजिसी, ६ लाख
६. सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप, गोकर्ण, ८ लाख ८२ हजार
७. सूर्य नेपाल एनपिजिए म्याच प्ले, आरएनजिसी, २ लाख ५० हजार
८. सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, गोकर्ण, १६ लाख १९ हजार

पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि
सूर्य नेपाल गल्फ टुर २०२४ / २५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि गोकर्ण गल्फ क्लबमा हुँदैछ ।

४ दिनसम्म चल्ने प्रतियोगितामा ३३ प्रोफेसनल र तीन वा तीनभन्दा कम ह्यान्डीक्याप भएका ७ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् ।

३६ होलपछि कट हुनेछ । प्रतियोगिताको कूल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।

यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी सद्भाव आचार्य हुन् । उनलाई कडा चुनौती दिने तयारीमा प्रोफेसनल गल्फरहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, सञ्जय लामा, धन थापा र कुमार कामी रहेका छन् ।

गत सिजन पनि एमेच्योर खेलाडीको प्रभाव बढी थियो । त्यसैले प्रो गल्फर यो पटक पनि दबाबमा रहन सक्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.