
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सोमबार बिहान अनावरण गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने आठवटा टिमका मार्की खेलाडीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफीको अनावरण गरेका हुन् । ट्राफी अनावरणपछि ओलीले नेपालको पर्यटन प्रवर्धनमा एनपीएलले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा प्रयोग गरिएको जानकारी दिए । विश्वलाई हिमाल संरक्षणको सन्देश दिने गरी ट्रफी बनाइएको उनको भनाइ छ ।
एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा आयोजना हुने छ । एनपीएलको पहिलो संस्करणमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी हुनेछन् ।



















