
काठमाडौं । डब्लुुएमएसी बेल्स खुला प्रतियोगितामा सञ्जितकुमार राई स्वर्णसहित २ पदक जितेका छन् ।
नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ बेल्समा भएको प्रतियोगितामा सञ्जितले २ स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका हुन् ।
सञ्जितले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकबेल्ट सफ्ट स्टायलमा स्वर्ण जिते । उनले २६.७ अंक जोडे । ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकबेल्टमा रजत जित्ने क्रममा २६.४ स्कोर गरे ।
प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगिताको क्रममा सञ्जितको डब्लुएमएसी बेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट भएको थियो ।
सञ्जितको ५ औं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
राष्ट्रिय उमा कुङफु प्रतियोगिताको २ फरक संस्करणमा सञ्जितले २ स्वर्ण जितेका छन् ।
उनले भारत, अस्ट्रेलिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका छन् ।
उनी नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।



















