
स्थानीय तहको विभिन्न पदका लागि उपनिर्वाचन हुने मिति नजिकिँदै छ । मिति नजिकिँदै गर्दा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि बढिरहेको छ । स्वतन्त्र उम्मेदवारहरुले पनि मत आफ्ना पक्षमा पार्ने कसरत गरिरहेका छन् ।
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि मनोनयन दर्ता भइसकेको छ । केही स्थानमा केही पदमा निर्विरोध निर्वाचित भइसकेको अवस्था पनि छ ।
निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमध्ये ३५ महिला, ४८ पुरुष र १ अन्य छन् । रिक्त ३४ वडाध्यक्ष पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३ सय २३ जनाको मनोनयन दर्ता भएको छ ।
यसबीच, निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहका मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
आयोगले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिनसमेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ । उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
‘आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउनु’, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ । मंसिर १६ गते आइतबार बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।
यी सबै भए निर्वाचनका औपचारिक प्रक्रियाहरु । यसबाहेक अरु केही पक्ष छन्, जसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र मर्यादित हुनुपर्छ । यो कुरा सैद्धान्तिक रुपले सबै राजनीतिक दलहरुले स्वीकार्दै आएको तथ्य हो । तर, यसलाई व्यवहारमा कति लागू गरिएको छ भन्ने कुरा बहसको विषय भने बन्दै आएको छ ।
सरकार र निर्वाचन आयोगले पनि निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था मिलाउने कुरामा विशेष ध्यान दिंदै आएका छन् । निर्वाचन निष्पक्ष र मर्यादित भयो भने निर्वाचन शान्तिपूर्ण हुन्छ । शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनु पहिलो सर्त हो । यसका लागि सुरक्षाकर्मी खटाएर निगरानी गर्नु मात्र पर्याप्त होइन, मतदातालाई मानसिक रुपमा यसको अनुभूति गराउन सक्नु महत्वपूर्ण हुन्छ ।
निर्वाचन शान्तिपूर्ण बनाउन कहीँ कतैबाट कसैले गल्ती, कमजोरी गर्नु हुँदैन । निर्वाचनमा खटेका निर्वाचन अधिकृत, सहायक अधिकृत तथा सम्बन्धित कर्मचारीहरू सबै इमानदार हुनुपर्छ । कसैलाई पक्षपात नगरी राम्रो व्यवहार गर्नुपर्छ । निर्वाचनका बेला पर्यवेक्षणमा खटिने संस्था र प्रतिनिधिहरुले पनि मर्यादित रुपमा काम गर्न सकेमा गलत भएको ठाउँमा खबरदारी गर्न सहज हुन्छ । उनीहरु उत्तिकै इमान्दार, निपष्क्ष र जिम्मेवार हुनु अर्को महत्वपूर्ण पक्ष हो भन्नेमा दुई मत छैन ।
मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर भएन, मतपत्रमा दलको चिन्ह भएन भने त्यहाँ स्वाभाविक रूपमा विवाद हुन्छ । यसका लागि पनि सम्बन्धित कर्मचारीहरु तयार रहनुपर्छ । विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नु बुद्धिमानी हुन्छ ।
निर्वाचनका बेला कुनै पनि दल र दलका नेताहरूले शक्ति र सत्ताको आधारमा कसैलाई डर, धम्की दिने काम गर्नु हुँदैन । निर्वाचन बिथोल्नकै निम्ति कसैले हुलदंगा मच्चाउन सक्छ, मतदातालाई आतंकित बनाएर कममात्र मत खसाल्ने वा आफ्ना पक्षमा मात्र मत पार्न सक्ने खालका जाल बुनेको हुनसक्छ । विगतका कतिपय घटनाक्रमहरुले यसलाई उजागर गरिसकेको छ ।
त्यसैगरी, निर्वाचन अघिको मात्र होइन निर्वाचनकै दिन कुनै पनि दलका नेता तथा कार्यकर्ताले पैसा बाँडेको हुनसक्छ । कुनै न कुनै निहुँ खोजेर मतदान केन्द्रमा हस्तक्षेप हुन सक्छ । मतपेटिका यताउता गराउने प्रपञ्च देखिन सक्छ । विगतका यस्ता घटनालाई मध्यनजर गरेर सुरक्षा निकाय सतर्क र चनाखो हुनैपर्छ ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएर मात्र पुग्दैन । निर्वाचन सम्पन्न भएपछि सुरक्षाकर्मीको रोहबरमा मतपेटिका निश्चित स्थानमा पुर्याउनुपर्छ । यसमा विलम्ब भएमा अनेक शंका उत्पन्न हुन्छ । मतपेटिका सबै निश्चित स्थानमा पुगिसकेपछि मतगणनाको लागि तयारी गर्नुपर्छ । मतगणनामा पनि कर्मचारीहरूको बेइमानीको कारण धाँधली हुन्छ या एउटा दलको चिन्हले पाएको मत अर्काे दलको चिन्हा मिलाइएको हुनसक्छ ।
यसले गर्दा मतगणनामा विवाद हुन्छ र नतिजा सार्वजनिक गर्न ढिलो हुन्छ । यसरी मतदान केन्द्र, मतपेटिका राख्ने स्थल र मतगणनास्थल सबै ठाउँमा विश्वासिलो वातावरण हुनुपर्छ । अनिमात्रै साँच्चै निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र मर्यादित हुन्छ । उपनिर्वाचन हुन लागेका सबैतिर यस्तै वातावरण भएमा मात्र निर्वाचन सफल हुन्छ र यसले आगामी निर्वाचनका लागि सकारात्मक सन्देश जान्छ ।

























