खेलकुद महासंघले गरायो सरकारको ध्यानाकर्षण, यस्ता छन् ७ बुँदे माग

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार २१:४३

काठमाडौं । नेपाल खेलकुद महासंघले ७ बुँदे माग राख्दै खेलकुद मन्त्री तेजुलाल चौधरीलाई आज (सोमबार) ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष धर्मकुमार श्रेष्ठ नेतृत्वको टोलीले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले खेलकुदप्रति गम्भीर हुन आग्रह गर्दै खेलाडीहरुको जीविकोपार्जन हुनसक्ने आधार बनाउनुपर्ने, १० औं राष्ट्रिय खेलकुदको मिति तोक्नुपर्ने लगायतका माग सरकारसँग राखेको छ ।

खेल र खेलकुदको माध्यमबाट संसारभर राष्ट्रको गरिमा र पहिचान बढाउन सकिने बताउँदै महासंघले खेलाडीहरुका लागि खेलकुदका माध्यमबाट जीविकोपार्जन गर्न सक्ने आधार निमार्ण हुन जरुरी रहेको विषयलाई प्राथमिकता दिएको छ ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति टरिसकेकाले खेलाडीलगायत खेल क्षेत्रमा निराशा छाएको उल्लेख गर्दै महासंघले यथाशीघ्र नयाँ मिति तोक्दै प्रतियोगिताको तयारी तुरुन्तै थाल्नु पर्ने आवाज उठाएको छ । महासंघको अर्को मागमा १० औं राष्ट्रिय खेलकुदका खेलाडी छनोटलगायतको कामका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेशमा यथाशीघ्र बजेट उपलब्ध गराउनुपर्ने रहेको छ ।

प्रदेशलाई बजेट समयमै उपलब्ध नहुँदा खेलाडी छनोटलगायतका काम प्रभावकारी हुन नसकेको निष्कर्ष महासंघको छ । राखेपको बोर्ड बैठक यथाशीघ्र बैठक राख्नुपर्ने अर्को माग छ । बोर्ड बैठक लामो समयदेखि बसेको छैन ।

त्यस्तै, राखेपका उपाध्यक्षलगायत रिक्त सदस्य पदहरुमा यथाशीघ्र सहमतिको आधारमा नियुक्त गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पलायन रोक्न आवश्यक निर्णय गर्नुपर्ने र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने बजेट कटौती गरिएको हुँदा यथाशीघ्र बजेट व्यवस्था गर्नुपर्ने माग पनि महासंघको छ । महासंघले राखेपअन्तर्गतका कर्माचारीहरुको समायोजन नभएको जनाउँदै रिक्त कर्मचारी यथाशीघ्र समायोजन र पदपूर्ति गर्नुपर्ने माग राख्दै खेलकुद मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.