
काठमाडौं । लामो समयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक बस्न नसक्दा चौतर्फी आलोचना हुन थालेपछि शुक्रबारलाई बोर्ड बैठक बोलाइएको छ ।
राखेपको ११८ औं बोर्ड बैठक आगामी शुक्रबार बस्ने भएको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा स्पष्ट उल्लेख भए अनुसार वर्षमा कम्तीमा २ पटक बोर्ड बैठक बस्नुपर्ने हो । तर, करिब १४ महिनापछि राखेपको बोर्ड बैठक बस्न लागेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बोर्ड बैठक राख्न चासो दिएका थिएनन् । यसअघि ४ पटकसम्म बोर्ड बैठक राख्न राखेपको प्रस्ताव मन्त्री चौधरीले अस्वीकार गर्दै आएको राखेपका एक सदस्य बताए ।
यसअघि ४ पटकसम्म बोर्ड राख्न गरेको प्रस्ताव मन्त्रीले अस्वीकार गरे । गत मंसिर ७ गते बोर्ड बैठक राख्न मन्त्री तयार भए पनि अन्तिम समयमा रद्द गरेको, ती बोर्ड सदस्यले भने ।
यस पटक बोर्ड बैठकमा १० औं राष्ट्रिय खेलकुद र प्रथम पारा राष्ट्रिय खेलकुदको आयोजना, कर्मचारी सेवा सर्त विनियमावली, जुनियर विद्यालय खेलकुद प्रतियोगिता कार्यविधि र राष्ट्रपति रनिङ शिल्डलगायत ७ वटा मुख्य अजेन्डा रहेको राखेपका एक बोर्ड सदस्यले बताए ।
गत मंसिर २ गते १० औं राष्ट्रिय खेलकुद आयोजनाको मिति ९ औंको समापन लगत्तै घोषणा भएको थियो । १० औं आयोजनाका लागि सरकारले ६० करोड रूपैयाँ बजेट पनि विनियोजन गरिसकेको भए पनि मन्त्री चौधरीले बोर्ड बैठकसँगै निर्धारित समयमा खेलकुद आयोजना चासो नदिएनन् ।
पछिल्लो समय खेलकर्मीलगायत विभिन्न सरोकारवाला निकायले बोर्डको बैठक बस्न नसकेको भन्दै ज्ञापनपत्र मन्त्रीलाई बुझाउँदै सामाजिक सञ्जालमा आलोचना गर्न थालेपछि शुक्रबारलाई बोर्ड बैठक बोलाइएको र राखेपका एक बोर्ड सदस्यले बताए ।



















