
काठमाडौं । विद्युत महसुल बक्यौता नतिर्ने उद्योगका लाइन नकाटिने भएको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको छ । उक्त निर्देशनपछि बोर्डले बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णय लिएको हो ।
स्रोतका अनुसार बोर्डको निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन् । नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको उल्लेख गरेको छ ।

























