
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ / २५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन् ।
अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरणविक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए । राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो ।
गोकर्ण गल्फ क्लबमा लगातार ३ दिनका लिडर तोरणले इभन–पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११–अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य भने समग्रमा ७–अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन–पार ७२ मा खेल सकाए ।
समग्रमा ३–अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । निरजले आज १–ओभर ७३ र भुवनले २–अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्त रुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार पाए ।
यसैगरी, समग्रमा इभन–पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्त रुपमा छैटौं भए । सुनिलले २–अन्डर ७० र जयरामले इभन–पार ७२ को स्कोर दर्ज गरे । दुवैले जनही ५८ हजार नगद पाए ।
त्यसैगरी, समग्रमा ३–ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए । उनले आज इभन–पार ७२ मा खेल पूरा गरे । ४–ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५–ओभर २९३ सहित भुवनकुमार रोक्का समग्रमा दशौं भए ।
अन्तिम दिन सञ्जयले इभन–पार र भुवनले १–ओभर ७३ को स्कोर दर्ज गरे । उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे । आज एमेच्योर गजेन्द्र गुरूङले १० औं होलमा होल–इन–वानको सफलता प्राप्त गरे ।
अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सद्भावविरूद्ध तोरणसँग ४ स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो ।
तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेले ।
फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यता लगातार ३ दिनका लिडर तोरणले पहिलो होलको बोगीविरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पुर्याए ।
तोरण र राहुल समान ११–अन्डरमा थिए । यसपछि बाँकी ९ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो । राहुलले ११ औं र १२ औं होलमा बर्डी प्रहार गरे ।
तोरणले भने १० औं र १३ औं होलमा १–१ सट बचाए भने १५ औं होलमा बोगी प्रहार गर्दा १५ औं होलको खेल सकिँदा खेल बराबरीमा पुग्यो । १६औं होल राहुलका लागि टर्निङ प्वाइन्ट बन्यो ।
उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते ।
राहुलले दाबेदार सद्भावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते । डिफेन्डिङ च्याम्पियन सद्भावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे पनि दोस्रो छैटौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए ।
यसपछि १०औं, ११औं, १४औं र १७औं होलमा १–१ सट बचाए भने १५औं होलमा डबल बोगी खेपे र १८औं होलमा एक सट खेर फाले । ब्याक नाइन १–अन्डर ३५ मा सकाए । उनी समग्रमा तेस्रो र एमेच्योरतर्फ दोस्रो भए ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपालका मार्केटिङ भाइस–प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे ।
४ दिने प्रतियोगितामा कूल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कूल ४७ खेलाडीले प्रतिस्पर्धा गरे ।
सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।



















