
विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो गाउँ आफ्नो समाज बनाउन सबै एक भएर काम गर्नुपर्ने बताएका छन् ।
मोरङको बूढीगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रमको समापनलाई सम्बोधन गर्दै नेता कोइरालाले गाउँपालिकालाई समृद्ध र विकासशील बनाउन सबै एक भएर काम गर्नुपर्नेमा जोड दिए ।
सर्वाधिक चिकित्सक उत्पादन गर्न सफल गाउँपालिकामा बसोबास गर्ने निम्न आय भएका स्थानीयको स्वास्थ्य परीक्षणका लागि स्थानीय चिकित्सकले सातामा एकपटक समय दिनसके राम्रो हुने कोइरालाको भनाइ छ ।
उनले भने, ‘यसै गाउँपालिकाको एउटा टोलबाट धेरै चिकित्सकहरु उत्पादन हुनु भएको छ । यो निकै राम्रो कुरा हो । उहाँले पनि आफ्नै पालिकामा रहेको अस्पतालमा सातामा एक दिन समय दिनु भए बिरामीहरु लाभान्वित हुने थिए । उनीहरुको उपचार र ज्यान जोगाउन सकिने थियो ।’
त्यसैगरी, डा. कोइरालाले गाउँपालिकालाई विपन्न र निम्न आय भएका स्थानीय ऋषिदेव समूहका मानिसहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिन आग्रह गरे ।
गाउँपालिकाका पदाधिकारीहरुले एउटा निश्चित रकम राखेर उनीहरुलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन सके ऋषिदेव समुदायलाई उपचार गर्न सहज हुने थियो ।
उनले गाउँपालिकाका महिलाहरुका लागि महिला उद्यमग्राम निर्माण हुने जानकारी दिए । भने, ‘यहाँका महिला दिदीबहिनीहरुका लागि चाँडै नै महिला उद्यमग्राम खुल्दैछ ।‘’
उद्यमग्राम खुलेपछि यहाँका महिलालाई विभिन्न स्वरोजगारमा व्यस्त बनाउन सकिने अपेक्षा गरेको उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जीतनारायण मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, डा. शीतल यादवलगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्डमा सरस्वती मावि पहिलो, जेभियर इङ्लिस स्कुल दोस्रो र नरग्राम मावि तेस्रो भएको छ ।



















