
काठमाडौं । कीर्तिपुरस्थित टियू क्रिकेटमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
विराटनगर किंग्सले लगातार दोस्रो खेलमा समेत हार व्यहोर्नु परेको छ । विराटनगरले २ खेल खेल्दै अंकविहीन भएको हो । सुदूरपश्चिम पहिलो खेलमा जित निकाल्दै २ अंक जोड्न सफल भयो ।
आज (मंगलबार) भएको पहिलो खेलमा टस जितेर विराटनगरले सुदूरपश्चिमलाई पहिलो ब्याटिङको मौका दिएको थियो ।
पहिलो ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रनको योगफल खडा गरेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ रन, ब्रेन्डन मक्मेलनले ३६ रन, विनोद भण्डारीले २३ रन, इशान पाण्डेले २१ रन र सेफ जेबल १४ रन बनाएका थिए ।
बलिङमा विराटनगरका अनिल खरेलले ३ विकेट, इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए ।
विराटनगरले पाएको १ सय ८३ रनको बलियो लक्ष्य भेटाउने क्रममा १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९२ रनमै समेटियो ।
बसिर अहमदले २४ रन, राजेश पुलामीले १५ र अनिल खरेलले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा सुदूरपश्चिमका अविनाश बोहोरा र स्कट कुगेलेनले समान ३–३ विकेट तथा सेफ जेब, इशान पाण्डे र ब्रेन्डन मक्मलेनले समान १ विकेट लिए ।
प्लेयर अफ द म्याच सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी भए । आज दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।



















