
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बुधबार) भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।
कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।
काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोज्दै पहिलो ब्याटिङको निम्तो कर्णालीलाई दिएको थियो ।
पहिले ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल बनाएको थियो । शिखर धवनले ७२ रन, चाल्डिक वाल्टनले २१ रन, जिशान मक्सुदले १४ रन, बाबर हायतले १३ रन र गुलशन झाले १२ रनको योगदान गरे ।
बलिङमा काठमाडौंका जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र करण केसीले समान १ विकेट लिए ।
१ सय ५० रनको लक्ष्य पाएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै विजयी लक्ष्य पूरा गरेको थियो । सुमित महर्जनले ४० रन, जेहार्ड एरास्मसले ३८ रन, करण केसीले २८ रन, माइकल लेभिटले २२ रन बनाए ।
बलिङमा कर्णालीका सोमपाल कामी, जिशान मक्सुद, विपिन शर्मा, नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए । काठमाडौंका सुमित महर्जन प्लेयर अफ द म्याच भए ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुँदैछ ।



















