आर्थिक अभाव भएपछि महिला लिगमा कोशीले भाग नलिने

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १९, बुधबार १९:०७

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिग प्रतियोगितामा कोशी प्रदेश महिला टोलीले भाग नलिने भएको छ ।

प्रतियोगितामा भाग लिनका लागि टोलीलाई आर्थिक अभाव भएपछि लिग प्रतियोगितामा भाग नलिने भएको हो । आर्थिक अभाव भएपछि कोशी प्रदेश महिला फुटबल टोली जारी एन्फा महिला लिग २०८१ मा सहभागिता नजनाउने भएको हो ।

मंसिर २९ देखि पुस २७ गतेसम्म चितवनमा हुने सुपर फाइभबाट प्रदेशको टोली बाहिरिएको छ । भदौ र असोजमा भएको लिगमा सहभागिता जनाउँदाको करिब १३ लाख रुपैयाँ खर्च भुक्तान हुन नसक्दा र चितवनमा थप आर्थिक भार व्यहोर्नुपर्ने भएपछि कोशी प्रदेश फुटबल संघ पछि हटेको हो ।

संघका अध्यक्ष किशोर राईले फुटबललाई व्यक्तिगत रुपमा आर्थिक जुटाएर यहाँसम्म ल्याए पनि अबअघि बढाउन समस्या भएको बताए । उनले अघिल्लो लिगमा खर्च भएको रकम नै तिर्न बाँकी रहेको प्रष्टाए ।

आयोजक एन्फा, प्रदेश सरकार, खेलकुद बोर्ड, स्थानीय सरकारले आर्थिक सहयोग नदिँदा समस्या परेको छ । चितवनमा हुने सुपर फाइभका लागि करिब १ महिनाको खेलमा करिब १० लाख रुपैयाँ खर्च लाग्छ । तर, त्यसका लागि अहिलेसम्म कहीँबाट सहयोग जुट्न नसकेको राईले बताए ।

अर्कोतर्फ, लिग आयोजक एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले सहभागी टोलीलाई सक्दो सहयोग गरेको बताए । उनले भने, ‘पहलो चरणको खेलमा तयारीका लागि ७ लाख र अहिले चितवनका लागि २ लाख रुपैयाँ सहयोग गर्ने भनेका हौं । तर, कोशी प्रदेशले पहिलो चरणमा ठूलो रकम खर्च भएको जनाउँदै थप माग गरेको छ ।’

अध्यक्ष नेम्बाङका अनुसार कोशीले माग गरे अनुसार अहिलेको अवस्थामा १० लाख रुपैयाँ उपलब्ध गराउन कठिन छ । तर, पनि एन्फाले चितवनका लागि केही स्पोन्सर जुटाउने प्रयास गरिरहेको छ । प्रदेशले माग गरेअनुसारको रकम नभए नखेल्ने पत्र पठाएपछि विकल्प सोच्न बाध्य भएको उनले बताए ।

भदौमा भएको लिगमा करिब १३ लाख रुपैयाँ भएको बताउँदै अध्यक्ष राईले भने, ‘सो रकम संघका पदाधिकारी, साथीसँग सरसहयोग लिएर जुटाइयो । लिगमा खेलाडीहरुले राम्रो खेले र सुपर फाइभमा पुग्यौं । तर, अहिलेसम्म न खेलाडीलाई जिम्मेवारी निकायले हेर्यो, न त सरकारले । अहिले त्यही १३ लाख रुपैयाँ तिर्न सकिएको छैन । प्रदेशमा पटकपटक भन्यौं । तर, केही लागेन । खेलाडीको मन मारेरै भए पनि हामीले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेका हौं ।’

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भदौ १२ गते खेलाडीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत, अध्यक्ष राईसहितको टोलीले बिदाइ गरेका थिए । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो चरणको लिगमा कोशीले १४ अंकसहित ५ औं स्थान बनाएको थियो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश महिला फुटबल टोलीका बारेमा सुनेपछि आफूले जानकारी लिएको बताए । ‘टोलीलाई मैले खेल्न जान भनिसकेको छु । प्रदेश सरकार सहयोग गर्न तयार छ,’ राईले भने ।

प्रदेश सरकार बजेट अनुसार महिला टोलीलाई सहयोग गर्न तयार रहेको उनले बताए । ‘मैले फुटबल संघ कोशीका अध्यक्ष किशोर राईलाई प्रदेश सरकार सहयोग गर्न तयार छ । प्रस्ताव लिएर आउनुहोस् र जान तयार हुनुहोस् भनेको थिएँ । तर, उहाँले हाम्रो संघसँग कुरा नमिलेकोले नजाने भन्नु भएको छ । एन्फासँग केही कुरा नमिलेकाले नजाने भन्नु भयो । प्रदेश सरकार खेलाडीलाई सहयोग गर्न तयार छ,’ मन्त्री राई भन्छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.