
विराटनगर । नेपाली सेनाका प्रफुृल महर्जन ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रफुलले युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षेत्रीलाई २१–७, २१–७ को समान अन्तरले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । अब सेमिमा प्रफुलले एपिएफका देवराज रानासँग प्रतिस्पर्धा गर्नेछन् । रानाले सेनाका सुप्रिम पन्तलाई २१–१८, २१–११ ले पराजित गर्दै प्रफुलसँगको भेट पक्का गरेका हुन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा अन्तिम ४ मा प्रवेश गर्ने क्रममा एपिएफका प्रिन्स दाहालले सेनाका डेभिड थापा मगरलाई २१–१४, २१–९ ले पराजित गर्दै सेमिफाइनलमा एपिएफकै क्षीतिज खनालसँगको भेट पक्का गरेका हुन् । खनालले सेनाकै सुविन श्रेष्ठलाई २१–१०, २१–४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको महिला एकलतर्फ सेनाकी रसिला महर्जन सेमिफाइनलमा प्रवेश गरिन् । रसिलाले एपिएफकी स्वर्लिन श्रेष्ठलाई २१–६, २१–९ ले पराजित गरेकी हुन् । अब रसिलाले सेमिफाइनलमा आफ्नै क्लबकी रिहाना शेरचनसँग प्रतिस्पर्धा गर्ने छिन् । शेरचनले पुलिसकी सुष्मा श्रेष्ठलाई २२–२०, १२–२१, २७–२५ ले पराजित गरिन् ।
यस्तै, अर्को प्रतिस्पर्धामा सेनाकी शेष्ना श्रीपालीले बालकुमारीकी श्रेया बज्राचार्यलाई २१–९, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नै क्लबकी अमिता गिरीसँगको भेट पक्का गरिन् । गिरीले आफ्नै क्लबकी विष्णा बिष्टलाई २१–१२, २१–७ ले पराजित गर्दै सेमिमा प्रवेश गरेकी हुन् ।
यू–१७ पुरुष एकलतर्फको खेलमा पुलिसका कविर केसीले सेनाका सुदेश राजकोटीलाई २१–१०, २१–१५ र कठायत ब्याडमिन्टन एकेडेमीका अमन डंगोलले सेनाका सौर्य महर्जनललाई २१–१६, २१–१६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।
यस्तै, अर्को खेलमा सेनाका सुविन श्रेष्ठले सीतापाखा ब्याडमिन्टन क्लबका ईमा तामाङलाई २१–१३, २१–१६ ले र कैलालीका शिशिर रानाले सेनाका दीप थिङलाई २१–१४, १५–२१, २१–१२ ले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरे ।
मास्टर्स ४५ प्लस युगलतर्फ कास्कीका प्रेमकुमार गुरुङ र राजेन्द्र वाग्लेको जोडी तथा बालकुमारीका शान्ता डंगोल र कृष्ण श्रेष्ठको जोडीले पनि सेमिफाइनलको यात्र तय गरे । गुरुङ र वाग्लेको जोडीले भैंसेपाटीका राम केसी र लोकेन्द्रबहादुर थापाको जोडीलाई २१–१२, २१–१२ ले तथा डंगोल र श्रेष्ठको जोडीले एपिएफका नरेन्द्र बम र धिरेन चन्दको जोडीलाई २३–२१, २१–१० ले पराजित गरेका हुन् ।
त्यस्तै, अर्को खेलमा कास्कीका हिमाल गुरुङ र शम्भु श्रेष्ठको जोडीले कीर्तिपुरका काजी कार्की र अमित महर्जनको जोडीलाई २१–१४, २१–१५ र स्पोर्टस हबका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडीले क्लब ७ का बिलन महर्जन र प्रकाश थापाको जोडीलाई २१–१९, २१–१९ ले पराजित गर्दै सेमिफाइनल भिडन्त पक्का गरे ।



















