उमागौरी सहकारी : सांसद पत्नीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी (हेर्नुहाेस् अभियाेग )

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २, मंगलबार १५:३७

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले फरार रहेका २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, रंंगेली नगरपालिका– २ का वडा अध्यक्ष सन्तलाल खवाससहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सोमबार मलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ५७ बमोजिम  पक्राउ पुर्जी जारी भएकाे हाे । मुद्दामा प्रतिवादी बनाइएका एक जना रोशन राजवंशी भने पूर्पक्षका लागि थुनामा छन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको हो । उनी धनपालथान गाउँपालिका (४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अन्य प्रतिवादी फरार छन् । फरार प्रतिवादीको सूचीमा रंगेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

यो सहकारी संघिय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग नजिक रहेका उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए ।

सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा बिचाराधीन छ ।

सांसद पोखरेलले आफ्नी श्रीमतीलाई सञ्चालक समितिमा राखेका थिए । स्रोतका अनुसार रौनियाले पोखरेलसँगको सल्लाहमा सहकारीको काम गर्थे । सहकारीले बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको छ । यस्तो ऋणका लागि सहजिकरण पनि पोखरेलले गरेका थिए ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरु ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीले नविल बैंकबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सदस्यले ऋणको किस्ता बापत सहकारीमा बुझाएको रकम बैंकमा दाखिला नगरी सञ्चालक आफैले प्रयोग गरेका थिए ।

सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

‘सफ्टवयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ,’ सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ,‘तर उक्त ऋणहरुको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमसिल कर्जा शिर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जानिकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धीत ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाईन्छ ।’

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.