
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमा सुतेको भन्दै सार्वजनिक भएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो फोटो सार्वजनिक भएपछि विभिन्न कोणबाट बहस भइरहेको छ । लामिछानेको फोटो सार्वजनिक भएपछि प्रहरीले छानविन सुरु गरेको छ ।
प्रहरीले छानविन सुरु गरेपछि आफूलाई डाक्टर बताउने निकोलश भुसालले लामिछानेकाे फाेटाे आफूले खिचेर सार्वजनिक गरेको भन्दै माफी मागेका छन् । आफ्नो नियत खराब नभएको भन्दै फोटो सार्वजनिक गर्नु गल्ती भएको बताएका छन् ।
कुनै व्यक्तीको फोटो भिडियो अनुमति विना सार्वजनिक गर्न मिल्दैन । कसैले सार्वजनिक गरे व्यक्तिको गोपनियताविरुद्धको कसुर आकर्षित हुन्छ । यस्तो कसुर गर्नेलाई एक वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्वीर खिच्न वा तस्वीरको स्वरूप बिगार्न नहुने प्रावधान छ ।
दफा २९५ को उपदफा १ मा भनिएको छ ,‘कसैले कुनै व्यक्तिको अनुमति बिना निजको तस्वीर खिच्न वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन हुँदैन । तर कसैले कुनै सार्वजनिक स्थानको तस्वीर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्वीर खिचिन गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।’ त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तीको खोजी सुरु गरेपछि आफूलाई फोटो सार्वजनिक गर्ने व्यक्ती बताउँदै भुसालले माफी मागेको देखिन्छ । यो फोटो बुधबार राति रास्वपा नेता दीपक बोहराले पनि सार्वजनिक गरेका थिए । बोहराले सार्वजनिक गरेपछि भाइरल भएको थियो । कानुनका जानकारहरुका अनुसार फोटो अर्कालाई दिनु पनि अपराध हो । यस्तो कार्य पनि कानुनी रुपमा अपराध हो ।
मुलुकी अपराध संहिताको दफा २९६ को दफा १ भनिएको छ, ‘कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमति बिना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झुक्याउन वा सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।’
उपदफा २ मा कैद सम्बन्धी प्रावधान छ । उपदफा २ मा लेखिएको छ ,उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’

























