
काठमाडौं । नेपालबाट पछिल्लो पाँच महिनामा करिब डेढ अर्बको छुर्पी विदेश निर्यात भएको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा (साउनदेखि मङ्सिरसम्म) एक अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सात लाख ७३ हजार केजी छुर्पी निर्यात भएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार बिरालो र कुकुरको खाना (डग एन्ड क्याट फुड) का नामबाट छुर्पी निर्यात हुन्छ । सबैभन्दा धेरै अमेरिकामा छुर्पी निकास भएको छ ।
विभिन्न डेरी उद्योगले छुर्पी उत्पादन गरेर विदेश निर्यात गर्दै आएका छन् । आठ वर्षदेखि छुर्पी निर्यात गर्दा आएका गायत्री डेरी उद्योग सञ्चालक नीराजन कोइरालाले अन्तर्राष्ट्रिय बजारमा छुर्पीको माग बढ्दै गएको बताए ।
अमेरिकामा र क्यानडामा गरेर मासिक २५ देखि ३० टन छुर्पी निर्यात गर्दै आएको उनले जानकारी दिए ।
दुधको मूल्य बढ्दा छुर्पीको लागत मूल्य बढेकाले सोही अनुसार बजार मूल्य पाउन नसकेको उनको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १८ डलर रहेको छुर्पी अहिले मूल्य घटेर १३ देखि १५ डलरमा बिक्री हुन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलो छुर्पी निर्यात भएको विभागको तथ्याङ्क छ ।
२०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरकाे १७ लाख ८६ हजार ११२ किलो निर्यात भएको थियाे । विभागका अनुसार आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलो निर्यात भएको थियाे ।

























