संविधान संशोधनका लागि बारले माग्यो सुझाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २१, आइतबार १९:२८

विराटनगर । संविधान संशोधनको बहस चलिरहेका बेला कानुन व्यावसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले सुझाव माग गरेको छ ।

उच्च अदालत बार एसोसिएसन विराटनगरले देशभरका कानुन व्यावसायीहरुसँग संविधान संशोधनका लागि सुझाव मागेको हो । बारले संविधान संशोधनको लागि सुझाव माग गर्दा शक्ति पृथकीकरणको सिद्धान्तमा असर नपर्ने गरी हुनुपर्ने सर्त राखेको छ । कानुन व्यावसायीहरुबाट प्राप्त हुने सुझावपछि संशोधनका विषयलाई सार्वजनिक बहसमा ल्याउने बारको योजना छ ।

Advertisement

उच्च अदालत बार एसोसिएसन विराटनगरका सचिव एवं अधिवक्ता विनोदकुमार तिमल्सिनाका अनुसार शक्ति पृथकीकरणको सिद्धान्तमा असर नगर्ने र न्यायपालिकाको मूल मर्म र अधिकार अंगिकार गरी सुझाव माग गरिएको छ । बारले न्यायालय, राज्य शक्तिको बाँडफाँट तथा राज्यको पुनःसंरचना र संवैधानिक अभ्यास, संविधानवाद र संविधान संशोधनको औचित्यलाई पुष्टि गर्ने आधारसहित सुझाव दिनुपर्ने बताएको छ ।

सार्वजनिक वृतमा संविधान संशोधनको बहस चलिरहेका कारण संविधान संशोधनको विषयलाई छलफलमा ल्याउनका लागि सुझाव माग गरिएको सचिव तिमल्सिनाले बताए । नेपालका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्दा पनि संविधान संशोधन गर्ने सहमति भएको थियो ।

दुई दलले पनि अनौपचारिक रुपमा संविधान संशोधनको बहस चलाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनका लागि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.