खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छः प्रधानमन्त्री ओली

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २३, मंगलबार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको बताएका छन् ।

उनले आज (मंगलबार)प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खेलाडी पुरस्कृत कार्याक्रममा बोल्दै आफू प्रधानमन्त्री भएपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट दिनुपर्छ भनेर निर्देशन दिएपछि कर छुट हुँदै गएको बताएका हुन् ।

विजेता खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने प्रस्ट पारे ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो ।

साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्री ओलीले पुरस्कृत गरेका छन् ।

कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा दोस्रो भएको टोलीकी अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत पुरस्कृत गरियो ।

टोलीका खेलाडीलाई ३ लाख, प्रशिक्षक तामाङलाई २ लाख, सहायक प्रशिक्षक विनोद डंगोल र भगवती थापालाई समान ६० हजार तथा व्यवस्थापक वृन्दा देवान र फिजियो नवीना श्रेष्ठले समान १ लाख २० रुपैयाँ प्राप्त गरे ।

चीनको हाइजाओमा गत वर्षको असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराते च्याप्यियनसिपको रजत पदक विजेता एरिका गुरुङलाई ६ लाख, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ८० हजार रुपैयाँ पुरस्कृत गरिएको छ ।

यस्तै, यसै वर्ष साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काभा बिच महिला भलिबल प्रतियोगिताका स्वर्ण पदक विजेता कमला पुन, मनिषाकुमारी चौधरीलाई ५ लाख तथा प्रशिक्षक रुपेशकुमार विष्टलाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरियो ।

सोही प्रतियोगिता रजत पदक विजेता मानबहादुर श्रेष्ठ र दिल सुनारले समान ३ लाख रुपैयाँ पाउने छन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाडीहरुको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.