न्याय परिषद् सदस्यमा खड्काको नाम सिफारिस

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २७, शनिबार १७:३८

काठमाडौं । न्याय परिषद्को सदस्य पदमा नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको बार कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुने व्यवस्था छ ।

बारबाट नियुक्त भएका सदस्य रामप्रसाद श्रेष्ठको पदावधी पुस १५ गते सकिएको थियो ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार रिक्त रहेको स्थानमा खड्काको नाम सिफारिस भएको हो ।

आइतबार सिफारिससम्बन्धी विवरण सहितको पत्र न्याय परिषदमा पठाउने तयारी छ ।

न्याय परिषदले उक्त पत्र संसदीय सुनुवाइ समितिमा पठाएपछि खड्काको नियुक्तिका लागि प्रक्रिया अघि बढ्नेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि औपचारिक नियुक्ति हुनेछ । परिषद्का सदस्यको पदावधि चार वर्षको हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.