
विराटनगर । विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणबाट ठूलो रकम नोक्सान भएको छ ।
गोल्डकपको आठौं संस्करण २०८० चैत १५ गते सुरु भएर २४ गते सम्पन्न भएको थियो । उक्त गोल्डकपमा २२ लाख ६२ हजार रूपैयाँभन्दा बढी घाटा भएको विवरण सार्वजनिक गरिएको हो ।
प्रतियोगिता सम्पन्न भएको ९ महिनापछि आइतबार सार्वजनिक गरिएको आय–व्यय विवरण अनुसार गोल्डकपबाट २२ लाख ६२ हजार ८ सय ८ रूपैयाँ नोक्सानी भएको देखिन्छ । आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरेर गोल्डकपमा ८२ लाख ६० हजार ८ सय ३५ रूपैयाँ आम्दानी भएको र १ करोड ५ लाख २३ हजार ६ सय ४३ रूपैयाँ खर्च भएको जानकारी दिएको हो ।
ट्रष्टले गोल्डकप घाटामा जानुको मुख्य दोष भने कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई थोपरेको छ । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रदेश सरकार र राखेपले कबोल गरेको रकम उपलब्ध नगराउँदा गोल्डकप घाटामा गएको बताए ।
‘गोल्डकप गराउँदाको समयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ बजेट राखिदिनु भएको थियो । तर, उहाँ सरकारबाट बाहिरिएपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि रकम उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो । तर, प्रदेश सरकारले रकम उपलब्ध गराएन । खेलकुदलाई पूरै बेवास्ता गर्यो,’ उनले भने ।
शाहीका अनुसार प्रदेश सरकारबाट २५ लाख र राखेपबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने आश्वासन प्राप्त भएपछि गोल्डकप आयोजना गरिएको थियो । ‘सरकारले २५ लाख मात्रै दिएको भए गोल्डकप नाफामा जाने थियो । यस विषयमा हामीले प्रदेश खेलकुद विकास बोर्ड र सामाजिक विकास मन्त्रालयलगायत सबैतिर पटकपटक भन्यौं । तर, कतैबाट सहजीकरण भएन,’ उनी भन्छन्, ‘सरकारले इटहरी गोल्डकप, झापा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकपलाई समेत रकम दिएन । यसले पनि सरकार खेलकुदप्रति जिम्मेवारी छैनभन्ने प्रष्ट हुन्छ । अझैसम्म खेलकुद सरकारकै बेवास्ताको सिकार भइरहेको छ ।’
ट्रष्टका महासचिव विनेश बस्नेत सरकार र खेलकुद निकायकै कारण गोल्डकपमा ठूलो नोक्सानी बेहोर्नु परेको बताउँछन् । कबोल गरेको रकम उपलब्ध नहुँदा बजारमा समेत बाँकी रकम तिर्न समस्या भइरहेको उनको भनाइ छ ।
गोल्डकपमा विभिन्न प्रायोजकबाट ३५ लाख ९५ हजार, टिकट बिक्रीबाट ३५ लाख २० हजार र विराटनगर महानगरपालिकाबाट ११ लाख ४५ हजार रुपैयाँ आम्दानी भएको जानकारी बस्नेतले दिए । उनका अनुसार गोल्डकपमा पुरस्कार, मेडल तथा ट्रफीतर्फ २० लाख ८७ हजार, क्लबको यातायात खर्चमा १३ लाख, फ्लेक्स बोर्डतर्फ १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको छ ।
विगतमा ट्रष्टको कार्यसमितिले संयोजक राखेर प्रतियोगिता गर्दै आएको थियो । तर, आठौं संस्करण भने ट्रष्ट आफैंले आयोजना गरेको हो । प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न भएपनि घाटा बेहोर्नु परेको ट्रष्टका कोषाध्यक्ष अनुज बानियाले बताए ।
प्रतियोगितामा ३ विदेशीसहित १० वटा टिमको सहभागिता रहेको थियो । जसमा भारतको २ र भुटानको १ वटा तथा नेपालबाट विभागीसहित ७ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाएका थिए । त्योबाहेक उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई २१ हजार रूपैयाँका दरले दिइएको कोषाध्यक्ष बानियाले बताए । उनका अनुसार दैनिक उत्कृष्ट हुने खेलाडीलाई ११ हजार रूपैयाँका दरले र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको थियो ।
आर्थिक मन्दीका कारण औद्योगिक एवं व्यापारिक क्षेत्र समस्यामा परेकाले स्रोत जुटाउन समस्या भएको बानिया बताउँछन् । ‘आर्थिक मन्दीको असर सबै क्षेत्रमा परेका कारण सहयोग जुटाउन कठिन भयो । तर, विराट गोल्डकपको पहिचानलाई जोगाइराख्न प्रतियोगिता संचालन गर्नैपर्ने बाध्यता थियो । त्यहाँमाथि सरकार र राखेपबाट सहयोग भएन । विभिन्न चुनौतीको सामना गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरियो,’ उनले भने ।
यसअघि, गोल्डकपको सातौं संस्करणसमेत नोक्सानमा गएको थियो । त्यतिबेला ८७ लाख रूपैयाँ बराबर घाटा भएको हो । लगातार दुईवटा प्रतियोगिताले ठूलो घाटा बेहोर्ने अवस्था सिर्जना हुनु विराट गोल्डकपका लागि चिन्ताको विषय भएको ट्रष्टले जनाएको छ ।
लगातारको घाटासँग जोडेर गोल्डकपको भविष्यका बारेमा अनेक टिप्पणी एवं चर्चासमेत भइरहेका छन् । अध्यक्ष शाहीका अनुसार ट्रष्टले गोल्डकपको नवौं संस्करण आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आगामी फागुन २१ गतेको समय पाएको छ ।
खेलकुदलाई साथ दिनुपर्ने र सहयोग गर्नुपर्ने निकायबाटै बेवास्ता भइरहेकाले एन्फाबाट पाएको समयमा गोल्डकपलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल सुरु भएको उनले बताए । ‘आगामी गोल्डकपका विषयमा ट्रष्टका पदाधिकारी छलफलमा जुटिसकेका छौं,’ अध्यक्ष शाहीले भने ।



















