
विराटनगर । नेपाल खेलकुद महासंघ मोरङको अध्यक्षमा शीतल राय निर्विरोध निर्वाचित भएकी छन् ।
शनिबार विराटनगरमा सम्पन्न भएको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा राय निर्विरोध निर्वाचित भएकी हुन् ।
समितिको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा, सचिवमा सागर केसी, सहसचिवमा इन्दु बास्कोटा र मेनुका ठाकुर, कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित भएको छन् ।
सो अवसरमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई गतिशिल बनाउन देशैभरि खेलकुद प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताए ।
उनले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुशरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्ने गरी नीति निर्माण गर्न पहल गरिरहेको प्रष्ट पारे ।
नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमालेका केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।



















