
काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेता भएको नेपाली टोली सोमबार (आज)स्वदेश फर्किंदै छ ।
भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेता भएको हो ।
स्वदेश फर्कने नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
राखेप सदस्यसचिव घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार टोलीले नगद पुरस्कार पाउने बताए ।
आइतबार भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।
त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो ।
लिग चरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिस्पर्धात्मक रूपमा पराजित भएको थियो ।



















