
विराटनगर । विराटनगर र इटहरीमा रहेका २ ठूला रंगशाला संरक्षण र संवर्धन गर्नका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले समिति गठन गरेको छ ।
विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला रंगशालाको संरक्षण तथा संवर्धन समितिको संयोजकमा बोर्डका सदस्य प्रदीपकुमार भगत थारुलाई मनोनयन गरिएको छ ।
समितिको सदस्यमा वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोजविक्रम शाह, प्रशिक्षक प्रभाकर राना मगर र मोरङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राजनकुमार पोखरेल रहेका छन् ।
त्यस्तै, प्रादेशिक रंगशाला इटहरीको संरक्षण तथा संवर्धन समितिको संयोजकमा बोर्ड सदस्य शैलेशकुमार विष्टलाई मनोनयन गरिएको छ । समितिको सदस्यमा इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापा, बोर्ड सदस्य सन्दीप राई, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल र रंगशालाका प्रशासकीय अधिकृत चण्डिकाप्रसाद बास्तोला रहेका छन् ।
कोशी खेलकद विकास बोर्डको २३ औं बैठकले दुवै रंगशालाको संरक्षण र संवर्धनका लागि थारु र विष्टको संयोजकत्वमा समिति बनाएको बोर्डका अधिकृत कालिदास भट्टराईले जानकारी दिए ।
मनोनित संयोजकद्वय तथा सदस्यहरुलाई पत्र प्रदान गर्दै खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले राज्यले खेलकुदको विकासका लागि निर्माण गरेको संरचनाको संरक्षणमा समाज र राज्यका सबै पक्ष एकजुट भनेर लाग्नु पर्ने बताए ।
उनले खेलकुदको विकास तथा विस्तारका लागि खेलकुद संरचना अति महत्वपूर्ण रहेको र सरोकारवालाहरुसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।



















